प्रहरीलाई घुस दिने दुई चालक पक्राउ
विर्तामोड । झापामा सोमवार प्रहरीलाई घुस दिने दुई जना चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय धुलावारीले दुई स्थानबाट चालक पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय धुलावारीले प्रहरीलाई एक सय रुपैंया घुस दिने चालकलाई आज दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी चारआलीको टोलीलाई सवारी जाँचको क्रममा खाजा खानु भन्दै मनहरी गाउँपालिका–२ चितवनका ४७ वर्षीय इन्द्र तामाङलाई पक्राउ गरिएको छ ।
ना.ख. ११६८ नम्बरको मालवाहक ट्रकका चालक तामाङले प्रहरीलाई दर्ता कितावभित्र राखेर १ सय दिएपछि पक्राउ गरी कारवाही थालिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यस्तै, आजै विहान भद्रपुर–१० एसपी मोड अगाडी सवारी चेक गर्ने क्रममा अर्जुनधारा नगरपालिकाका उमाकान्त राजवंशीले ड्यूटीमा खटिएका प्रहरी जवान राजु राजवंशीलाई खाजा खानु भन्दै ५ सय रुपैयाँ घुस दिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
अस्थाई ट्राफिक प्रहरी पोष्ट चन्द्रगढी झापाबाट खटिएको संयुक्त टोलीले सवारी चेक गर्ने क्रममा ना २ ख ८३६० नंम्बरको ट्रक चालक राजवंशीले सवारी दर्ता कितावको बिचमा पैसा राखेर दिएका थिए ।
घुस दिने सवारी चालक राजवंशीलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय झापामा ल्याई आवश्यक अनुसन्धान तथा कार्वाही भई रहेको प्रहरी नायव उपरिक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।
प्रहरीले एकै दिनमा दुई जना चालक पक्राउ गरेपछि आज मात्र घुस दिएको हो त भन्ने सवाल उठेको छ ।