बैशाख १५, २०८२ सोमबार

यसरी भएको थियो मेयरको घर र गाडीमा तोडफोड

बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटीले सरकारबाट क्षतिपूर्ति वापत तिस लाख रुपैयाँ लिएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला इजलास डट कमले घटनाबारे फर्केर हेरेको छ ।


घरको सिसा मात्रै फुट्दा मेयरले तिस लाख किन लिए भन्दै जाँदा घटनाको विवरण फरक पाइएको छ । सम्पन्न भएर पनि शिवाकोटीले सरकारबाट ३० लाख रुपैयाँ क्षतिपूर्ति लिएको विषय सार्वजनिक भएसँगै उनी विरुद्ध अभिव्यक्तिहरु सार्वजनिक भइरहेका छन् ।


सामाजिक सञ्जालमा पनि दुई किसिमका अभिव्यक्ति सार्वजनिक भइरहेका छन् । एउटा सम्पन्न भएर पनि सरकारसँग ३० लाख लिने ?, ३० लाख नपाउँदा मेयरलाई के घाटा हुन्थ्यो भन्ने प्रश्न उब्जिएको छ । अर्कातिर, क्षति जो कोहिको पनि हुन सक्छ भन्ने आसयबाट अभिव्यक्ति आइरहेका छन् ।
बालक लक्ष्मण शिवाकोटीको मृत्यू प्रकरणका क्रममा बिर्तामोडमा भएको आन्दोलनका क्रममा मेयर शिवाकोटीको घरमा तोडफोड सहित आगजनीको प्रयास भएको थियो । सो क्रममा सुरक्षाकर्मीले जोगाएकै कारण घर आगजनी हुनबाट बचेको थियो ।


अर्जुनधारा–११ का बालक लक्ष्मण शिवाकोटी नजिकैको पोखरीमा मृत भेटिएपछि हत्याको आरोपमा बिर्तामोडमा हिंसात्मक आन्दोलन भएको थियो । आन्दोलनकै क्रममा प्रहरीको गोली लागेर अर्जुनधारा–५ का ३२ वर्षीय नरेश थापाको समेत मृत्यु भएको थियो । अर्का एक व्यक्ति जीवनमरणको दोशाधमा छन् ।


बिर्तामोड नगरपालिकाका मेयर घटनामा संवेदनशील नभएको भन्दै गएको कात्तिक महिनामा उनको घरमा तोडफोड सहित आगजनीको प्रयास गरिएको थियो । सोहि क्रममा नगरपालिकाको मे.१ झ १२१ नम्बरको गाडीमा र बा.१० च ३०६१ नम्बरको निजी कारमा क्षति भएको थियो ।

उनैका छोरा नेपाल रत्न शिवाकोटीको मे.७ प ३००० नम्बरको बुलेट मोटरसाइकल आन्दोलनकारीले जलाइदिएका थिए । हिंसात्मक आन्दोलनले शिवाकोटीको घर आगजनीको प्रयास समेत भएको थियो । सोहि क्रममा आन्दोलनकारीले घरमा सिसा समेत फुटाएका थिए ।


सरकारले मन्त्रिपरिषद्को बैठकबाट मेयर शिवाकोटीलाई क्षतिपूर्ति वापत ३० लाख दिने निर्णय गरिसकेको छ । सरकारले तत्कालिन आन्दोलनको अध्ययन गर्न गृहमन्त्रालय अन्तर्गत छानविन समिति बनाएको थियो ।

सोहि छानविन समितिले सरकारलाई पेश गरेको प्रतिवेदनका आधारमा ३० लाख दिने निर्णय भएको छ । छानविन समितिले १ करोडभन्दा बढि क्षति भएको विवरण पेश गरेको थियो । सरकारले भने ३० लाख दिने गरेपनि हालसम्म उपलब्ध नगराएको बुझिएको छ ।

प्रकाशित मिति : असार ९, २०७६ सोमबार  ३ : २६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]