बैशाख १५, २०८२ सोमबार

चारआली र धुलावारी डेंगुको उच्च जोखिममा

झापा । मेचीनगरको चारआली र धुलावारी डेंगुको उच्च जोखिममा रहेको पाइएको छ । केही दिनदेखि नगरमा डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानमा सक्रिय स्वास्थ्यकर्मीहरुको टोलीले यस्तो निष्कर्श निकालेको हो ।


१३ नम्बर वडाको चारआलीमा अत्याधिक रुपमा रहेका ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँमा प्रशस्त लामखुट्टका लार्भा फेला परेको कारण चारआली डेंगुको उच्च जोखिममा रहेको मेचीनगर नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।

केहीमहिना अघिदेखि सुनसरीको धरानमा फैलिएको डेंगु संक्रमण अहिले झापा, मोरङमा समेत ह्वात्तै बढेको छ । मेचीनगरमा संक्रमण दर बढेपछि यसको नियन्त्रणका लागि नगरपालिकाले स्वास्थ्य शाखासहित स्वास्थ्यकर्मीहरुको सम्पूर्ण समूह परिचालन गरेको छ ।

नगरमा डेंगु संक्रमित फेला परे लगत्तै मेचीनगर नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि लामखुट्टेको बासस्थान खोजी नष्ट गर्ने अभियानलाई शाखाले तीव्र पारेको छ भने चेतनामुलक पर्चा पम्प्लेट वितरण माइकिङ गरिरहेको छ ।

स्वास्थ्यकर्मीहरुको अध्ययनले नगरको १३ नम्बर वडाको चारआली र १० नम्बर वडाको धुलावारी पशुहाट आसपाससहित यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको निष्कर्श निकालेको शाखाका सहसंयोजक रामनारायण यादवले बताए ।

शाखाका संयोजक शशीकला राईका अनुसार हालसम्म नगरमा ४ जना डेंगु संक्रमित फेला परेका छन् । चारआलीमा मोटर ग्यारेजमा राखिएका टायर तथा टायर रिसोलिङ गर्ने ठाउँका टायरमा पानी जमेका कारण अत्याधिक मात्रामा लार्भा भेटिएका कारण यो क्षेत्र डेंगुको उच्च जोखिममा रहेको संयोजक राईको भनाई छ ।

लामो समयदेखि जमेको पानीमा, पानीको ट्याङकी, एसी, गमला, टायर, ड्रम, प्लाष्टिक, कन्टेनरमा एकहप्ता वा त्यसभन्दा बढी समयसम्म पानी जम्यो भने लामखुट्टेले बासस्थान बनाएर फुल पार्ने गर्दछ ।

नगरको स्वास्थ्यकर्मीहरुको टोलीले चारआलीमा रहेको ग्यारेज तथा टायर रिसोलिङ गर्ने ठाउँको अनुगमन गर्दा लामो समयदेखि टायरमा जमेको पानी नफ्याक्दा त्यहाँ लार्भा भेटिएको र नष्ट गरेको थियो ।

‘मेचीनगरको १३ नमबर वडा चारआली र १० को धुलावारी डेंगुको उचच जोखिममा रहेको छ ’ स्वास्थ्य शाखाका सहसंयोजक रामनारायण यादवले भने—‘टायरको उचित व्यवस्थापन नगर्दा तथा त्यहा जमेको पानी समयमै नफ्याक्दा यो समस्या आएको हो ।’ मेचीनगरको— १ पाटापुर र १० को धुलावारीस्थित पशु बजारमा एक÷एकजना तथा मेचीनगर—९ स्थित खुट्टीडाँगी दुर्गा टोलमा आमा छोरा गरी नगरमा नगरमा डेंगु संक्रमितको संख्या ४ जना पुगेको संयोजक राईले बताईन् ।

संयोजक राईका अनुसार सहरमा बसोबास गर्ने सर्वसाधारणले आफ्नै घर परिसरमा मात्रै पनि सरसफाईमा ध्यान दिने हो भने रोग संक्रमणको जोखिम आधा नै कम हुन्छ । एसी, फ्रिज, फूलका गमला, गाडीका पुराना टायर जस्ता वस्तुमा पाँच दिनभन्दा बढी पानी जम्नासाथ डेंगु सार्ने एडिस एजिप्टाई जातको लामखुट्टे मौलाउँछ ।

त्यसबाहेक जथाभावी फोहर फाल्दा सँगै मिल्काइने प्लाष्टिकका बट्टाहरु, प्लाष्टिकका गिलास तथा अन्य भाँडावर्तनहरुमा ज्यादै थोरै परिमाणमा जम्ने पानीमा पनि यो लामखुट्टेले फुल पार्न उनको भनाई छ ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  ४ : १३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]