पाकेटमार नै समातिए पछि…
गौरव पोखरेल
काठमाडौं । काठमाडौं प्रहरी परिसर, टेकुले पाँच महिनाअघि सार्वजनिक गरेको ७७ पाकेटमार मध्ये एक थिए, कालिमाटी बस्ने लालध्वज जिम्बा ।
केही दिन जेल बसेर छुटेका उनी फेरि चोरी धन्दामा सामेल भए । पछिल्लो पटक धनुषाका लक्ष्मेश्वर यादवको साथबाट ७७ हजार रुपैयाँ लुट्दालुट्दै २१ जेठमा पक्राउ परेका छन् । बल्खुको बयोदा हस्पिटल जानका लागि रत्नपार्कबाट बस चढेका यादवको गोजीबाट रकम निकाल्दै गर्दा उनी पक्राउ परेका थिए ।

महानगरीय अपराध महाशाखाकाका एक अधिकृतकाअनुसार उनी ९ पटक पक्राउ परिसकेका छन् तर, सुध्रिएको छैन । सुध्रियोस् पनि कसरी ? लाखौं चोरी गरेका उनी एकरदुुई महिना जेल बस्छन्, छुट्छन् । ‘हाम्रो नियन्त्रणमा आउनु पहिल्यै लाखौं चोरी गरिसकेको हुन्छ’, एक अधिकृतले भने, ‘पक्राउ पर्दा बरामद भए बराबर मात्रै जरिवाना हुने भएकाले पाकेटामारलाई सहज भएको छ ।’
जिम्बा पाँच महिनाअघि बाराबाट उपचारका लागि आएका एक जना वृद्धको ७७ हजार लुटेपछि उनी प्रहरीको फन्दामा परेका थिए ।
प्रहरीले जिम्बालाई त समात्यो तर, चोरी आरोपमा मुद्दा चलाउन समस्या सिर्जना भयो । अदालत लाँदा लुटिएको रकम बराबरको दशी प्रमाण देखाउनु पर्थ्यो । पीडितलाई भने रकम अस्पतालमा जम्मा गराउनु थियो । ‘वृद्धको स्थितिलाई हरेर पैसा फिर्ता दियौं’, काठमाडौं प्रहरी परिसर, टेकुका एक अनुसन्धान अधिकृत भन्छन्, ‘पैसा नभएपछि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलाउन हामी बाध्य भयौं ।’
तर, अभद्र व्यवहारको कसुरलाई प्रहरीले जिल्ला अदालत, काठमाडौंमा सबुतले प्रमाणित गर्न सकेन ।
जिम्बा केही दिनमै थुनामुक्त भए । जेलबाट निस्किएलगत्तै उनी पुनः चोरीमै संलग्न भए । ‘सजिलै पैसा कमाउने बानी परेपछि कसरी मन फेरियोस् ?’, काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तरमराज सुवेदी भन्छन्, ‘यो पनि एक किसिमको नशा जस्तै हुँदोरहेछ ।’
बिरामी लुट्दा सजिलै थुनामुक्त हुन सकिने बुझेपछि जिम्बाले सोही शैलीलाई दोर्होयाउन थालेका छन् । जिम्बा जस्तै बालाजुका २१ वर्षीय वसन्त परियार पनि चोरी मद्दामा पटकपटक पक्राउ पर्ने गरेका व्यक्ति हुन् ।
बसबाट ओलिँदै गर्दा सर्वसाधारणको २ लाख रुपैयाँ चोरेपछि उनी पक्राउ परेका थिए । तर, उनीमाथि कारबाही हुनेमा प्रहरी अधिकृत स्वयम् संशय व्यक्त गर्छन् । कारण, पीडित गाउँतिर फर्किहाल्नु पर्ने भएकाले प्रहरीले त्यो रकम फिर्ता गरिसकेको छ । ‘अब उनीमाथि अभद्र व्यवहारको मुद्दा चल्छ’, काठमाडौं प्रहरीको मुद्दा शाखाका अधिकृत भन्छन्, ‘सायद न्यायाधीशले धरौटीमा छाड्लान् ।’
यही कानुनी छिद्रलाई पछ्याउँदै विरामी, गाउँरविदेश जान लागेका व्यक्तिलाई निशानामा पार्ने पाकेटमारको संख्या उपत्यकामा बढ्दो छ । परिसरका डीएसपी होविन्द्र बोगटी भन्छन्, ‘पाकेटमार यतिसम्म बाठा भइसकेका छन् कि साझा यातायातमा गोजी काट्दैनन् ।’
सीसी टीभी, चढ्नेरओर्लिने वेग्लावेग्लै ढोका र फराकिलो हुने भएकाले साझा यातायातमा चोरीको दर नगण्य रहेको बोगटी बताउँछन् । जिम्बा र परियार मात्र होइन, आइतबार प्रहरीले सार्वजनिक गरेको ८२ पाकेटमार मध्ये २० जना पटके चोर छन् ।
चोरीमा युवा पुस्ता
प्रहरीका अनुसार चोरीमा ११ देखि २५ वर्षसम्मको पुस्ताको संलग्नता बढी देखिन्छ । एसएसपी सुवेदीका भन्छन्, ‘पकटे चोरीमा संलग्न हुने समूहमा डर नै हुँदैन । सुरुमै यो बाटोमा संलग्न हुन नदिन समाज, विद्यालय र परिवारको निगरानी जरुरी देखिन्छ ।’
पक्राउ परेका बालबालिकालाई पनि व्यवस्थित सुधार गृहमा राखेर निरन्तर अपराध विरोधी काउन्सिलिङ दिनुपर्ने सुवेदीले बताए ।
पाकेटमारका आफ्नै कोड भाषा
परिसर प्रमुख एसएसपी सुवेदी भन्छन्, ‘सर्वाजनिक बसमा २र२ जनाको दरले ६ जनासम्मको समूह बनाएर बसभित्र छिर्ने गरेको देखिन्छ । त्यसपछि पैसा भएको यात्रु पत्ता लगाएर अगाडि पछाडिबाट घेराबन्दी गरेर ठेलमठेलको अवस्था बनाउने गरिन्छ ।’
त्यही मौकामा यात्रुको नगद र सरसामान चोरी हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको सुवेदी बताउँछन् ।
उनीहरुले पकेटमारी गर्दा एक अर्कामा सांकेतिक भाषाको प्रयोग गर्ने गरेका छन् । प्रहरीका अनुसार पैसालाई ‘द’, मोबाइललाई ‘कान’, पीडितलाई ‘रामे’, पकेटमारी गर्नेलाई ‘मास्टर अथवा कासी’, पैसा धेरै भएको अवस्थालाई ‘टानको द’, पैसा थोरै हुँदा ‘जुटेको द’ भनेर सम्बोधन गर्ने गरेको देखिन्छ ।
गाडीलाई ‘काँचा’, केटालाई ‘छापा’, केटीलाई ‘भी’, प्रहरी आयोलाई ‘ठूल्दाइ आयो’, ड्राइभरलाई ‘माम’, खलासीलाई ‘मले’, गाडीबाट झरेर भागभन्दा ‘टप्की’, गाडीभित्र अगाडि सरभन्दा ‘अकल जा’ र गाडीभित्र पछाडि सर्न लगाउँदा ‘चिछल जा’ भन्ने गरेको प्रहरी बताउँछ ।
अनलाइनबाट साभार