बजारभाउ चार प्रतिशतले बढ्यो

काठमाडौं । एक महिना अवधिमै खाद्यान्नको भाउ चार प्रतिशतले बढेको सरकारी तथ्यांकले देखाएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तयार पारेको मूल्य विश्लेषणअनुसार वैशाखयता दैनिक उपभोग्य सामग्रीमा औसतमा ४.२ प्रतिशत बढेको हो ।
कान्तिपुर दैनिकमा समाचार छ, ‘बजार मूल्य विश्लेषण गर्दा उपभोग्य वस्तुको मूल्य बढेको देखिएपछि नियन्त्रण गर्न गोदाम र ठूला आयातकर्तामा अनुगमन सुरु गरेका छौँ’, विभागका महानिर्देशक योगेन्द्र गौचनले भने । सरकारले जेठ १५ गते बजेट भाषण गरेपश्चात् व्यवसायीले आफूखुशी मूल्यवृद्धि गर्दै आएका छन् । ढुवानी सेवामा पनि १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएपछि व्यापारीले मूल्य बढाउन बहाना पाएका छन् ।
आटा, मैदा मस्यौरालगायतमा पनि भ्याट लगाइएको छ । केही वस्तुको मूल्य बजेटअघि नै बढेको महानिर्देशक गौचनको दाबी छ । विभागले तयार पारेको मूल्य विश्लेषण प्रतिवेदनअनुसार स्टिम जिरा चामलमा ती प्रतिशतले भाउ बढेको छ । बासमती चामलमा १.६ प्रतिशत र आटामा १० प्रतिशत मूल्य बढेको छ । मसिनो मुसुरोमा २० प्रतिशत बढेको छ । मासको दाल एक महिनामा ९.५ प्रतिशतले बढेको छ ।