झापामा डीएपीको चरम अभाव

बिर्तामोड । झापाका किसानलाई यो वर्ष डीएपी मलको अभाव हुने भएको छ । धान रोप्न तयारी गरिरहेका किसानले अहिलेसम्म डीएपी मलको जोहो गर्न सकिहरेका छैनन् । मल विक्री केन्द्रहरुबाट किसान रित्तो हात फर्किरहनु परेको छ ।
कृषि सामग्री केन्द्र बिर्तामोडका अनुसार धान रोप्ने सिजनमा डीएपी मलको अभाव हुने भएको हो । यूरिया र पोटास पर्याप्त भएपनि डीएपी पर्याप्त नभएको कार्यलय प्रमुख कमल पोखरेलले जानकारी दिएका छन् । उनले बिर्तामोड शाखामा हाल ३ हजार बोरा यूरिया, १३५० बोरा पोटास र २०१५ बोरा डीएपी रहेको बताए । धेरै मात्रामा प्रयोग गर्नुपर्ने डीएपीको अभाव भएपछि किसान चिन्तित भएका छन् ।
कृषि सामग्री केन्द्र बिर्तामोड शाखाका प्रवन्धक पोखरेलका अनुसार धानको सिजनमा यूरिया र पोटासको अभाव हुने छैन । उनले भने, – डीएपी राष्ट्रिव्यापी समस्या छ । विरगञ्ज र विराटनगरबाट मल आयात गर्ने गरिएको उनको भनाई छ । विराटनगरमै डीएपी नभएकाले झापामा पनि अभाव हुने भएको हो ।
बिर्तामोड कार्यालयबाट झापाको १५ वटै स्थानीय तह मल पठाइने गरिन्छ । झापा सहित पाँचथर , ताप्लेजुङ र तेह्रथुमको आठराईसम्म बिर्तामोडबाट मल पठाइने गरेको प्रमुख पोखरेलले जानकारी दिए । ३० हजार बोराले यहाँ धानको एक सिजन पु¥याउने बताउँदै उनले भने, – अहिलेसम्मको अवस्थामा डीएपी उपलब्ध गराउन सक्ने संभावना छैन ।
कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मलको विक्री गर्दै आएको छ । यी दुवै संस्थानबाट अनुमति पाएका सहकारीले गाउँगाउँसम्म मल पु¥याउने भएपनि अहिले विक्री केन्द्रबाट किसानले खाली हात फर्किनु परेको छ । धौलागिरी पारिजात बहुउद्देश्यीय सहकारी संस्थाले गोल्धापमा सञ्चालन गरेको सुपथ मुल्यको विक्री केन्द्रमा पनि डीएपीको अभाव छ । गोल्धाप सेवा केन्द्रकी प्रमुख धन कुमारी बस्नेतका अनुसार विक्री केन्द्रमा कुनै मल छैन । उनका अनुसार गोल्धाप विक्री केन्द्रमा मात्र २ हजार बोरा डीएपीको आवश्कता छ ।
कृषि ज्ञान केन्द्र झापाका प्रमुख शालिकराम भट्टराईले मलको अभाव टार्न सक्ने बताएका छन् । उनले पर्याप्त मल नभएपनि समस्या नै हुने गरीको अभाव नभएको जानकारी दिएका छन् । यसै सन्दर्भमा बिहीवार ज्ञान केन्द्रमा बसेको बैठकले जिल्लाभर विक्रीको अनुमति पाएका सहकारीको अनुगमन हुने निर्णय भएको छ । भट्टराईका अनुसार बिक्रेताले मल लुकाएर अभाव सिर्जना गरेको हुन सक्नेछ । बैठकबाट स्थानीय सरकारको कृषि शाखा र ज्ञान केन्द्रको सिफारिसमा सोझै किसानले मल खरिद गर्न सक्ने निर्णय समेत भएको छ ।
कचनकवल –३ का महादेव राजवंशीले कुनै पनि मल नआएको जानकारी दिए । उनका अनुसार वर्खा लाग्न लागिसक्यो, मलको कुनै भरोसा छैन । दक्षिण झापाका किसानले मलको अभाव हुँदा छिमेकी भारतीय बजारबाट मल आयात गर्दै आएका छन् ।