प्रहरी चौकी कब्जामा लिने विप्लवको प्रयास असफल

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले सोलुखुम्बुको विकट क्षेत्रमा गतिविधि बढाउँदै प्रहरी चौकी कब्जा लिने प्रयास गरेको छ ।
जिल्लाको महाकुलुङ गाउँपालिका–३, छेस्काममा गएराति विप्लव कार्यकर्ताले चौकी कब्जा गर्ने उद्देश्यसहित आक्रमणको प्रयास गरेपनि असफल भएको छ ।
तर, त्यसबारे अग्रिम सूचना पाएपछि प्रहरी टोली आइतबार दिउँसै अन्यत्र भागिसकेको स्रोतको दाबी छ । घटनाको एक उच्च सुरक्षा अधिकारीले भनेका छन् ।
उनका अनुसार ‘२०/२५ जनाको संख्यामा हतियारधारी गाउँ पसेको सूचना आएलगत्तै चौकी खाली गरेर प्रहरी अन्यत्रै सरेका थिए ।’ ती अधिकारीले त्यो अज्ञात समूह चौकीभित्र छिरे पनि कागजपत्र वा अन्य केही सामान तोडफोड भएको नदेखिएको बताए ।
उनका अनुसार थप अनुसन्धानका लागि काठमाडौंबाट समेत सुरक्षाकर्मीको टोली पठाइएको छ ।
हेलिकोप्टरबाट सुरक्षाकर्मी
नेपाली सेनाको जंगी अड्डा स्रोतका अनुसार घटनापछि हेलिकोप्टरमार्फत प्रहरी र सशस्त्रको थप मद्दत टोली सोलुखुम्बु पठाइएको छ ।
सेनाको हेलिकोप्टर प्रयोग गरेर करिब ५० जना सुरक्षा अधिकारीलाई महाकुलुङ गाउँपालिका पठाइएको हो ।