सिडियोले बोलाउँदा गएनन् झापाका जनप्रतिनिधि

भद्रपुर । प्राकृतिक विपतबाट हुन सक्ने संभावित क्षति न्यूनिकरणका लागि आयोजना गरिएको कार्यक्रममा स्थानीय तहका प्रमुख उपप्रमुख सहभागी नभएपछि झापाका प्रमुख जिल्ला अधिकारी (सिडियो) जनकराज दाहालले आक्रोस व्यक्त गरेका छन् ।
उनले स्थानीय सरकारले विपत्तिको जोखिम न्यूनिकरण गर्न आयोजना गरिएको कार्यक्रममा जिम्मेवार निकायले सहभागिता नजनाउनु दुखत भएको बताए । झापाका १५ वटै स्थानीय तहका प्रमुखलाई कार्यक्रममा सहभागी हुन जिल्ला प्रशासन कार्यलय झापाले निमन्त्रणा गरेको थियो ।
जिल्ला दैविक प्रकोप उद्धार समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार जिल्लाको विपत व्यवस्थापनका लागि आइतवारबाट दुई दिने कार्यक्रम शुरु भएको छ । त्यसमा जिल्लाको जोखिम कम गर्न बृहत छलफल र योजना तयार गरिने छ ।
हरेक वर्ष झापामा बाढी पहिरोका कारण धनजनको क्षति हुँदै आएको छ । मनसुन शुरु हुनै लाग्दा पूर्व तयारीका लागि सरोकारवालासँग जिल्ला समितिले उक्त कार्यक्रमको आयोजना गरेको हो । आइतवार पहिलो दिन शिवसताक्षीका प्रमुख चन्द्र शेर्मा र उपप्रमुख भोजकुमारी नेपाल सहभागी थिए । गौरादह नगरपालिकाबाट प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र सहभागी थिए । बाँकी १३ स्थानीय तहका प्रतिनिधि समेत सहभागी भएनन् । सुरक्षा निकाय सहित सरोकारवाला सहभागी गराउने कार्यक्रममा जनप्रतिनिधि सहभागी नभएपछि कार्यक्रमको औचित्य पूर्ण नभएको बताइएको छ ।
स्थानीय तहका प्रमुख,उपप्रमुख र प्रमुख जिल्ला अधिकारीको बरियतका कारण अधिकांश जनप्रतिनिधि सहभागी नभएको बुझिएको छ । आफुभन्दा तलको बरियता भएका प्रजिअले बोलाएको कार्यक्रममा नजाने जनप्रतिनिधिको भनाई छ, एक अधिकृतले उदृत गर्दै भने । उहाँहरु भन्नुहुन्छ, सिडियोले बोलाउँदा जाँदैनौं, अधिकृतले थपे ।
प्रजिअ दाहालले वरियता भन्दा पनि जोखिम वा कार्यक्रम महत्वपूर्ण भएको बताए । प्राकृतिक विपत्तिले ठुलो नोक्सान गर्न सक्ने भएकाले बेलैमा सचेत गराउन कार्यक्रमको आयोजना गरेको उनको भनाई छ । ‘जनप्रतिनिधिले जोखिम न्यूनिकरणलाई कम प्राथमिकता दिनुभयो ’ उनले भने ।
जिल्ला रेडक्रस कार्यलय भद्रपुरमा भएको कार्यक्रममा सोहि नगरका प्रमुख जीवन कुमार श्रेष्ठ समेत सहभागी भएका थिएनन् । श्रेष्ठको प्रेस संयोजक गंगा बरालले दिएको जानकारी अनुसार बोर्डको बैठक भएकाले सहभागिता जनाउन सक्नु भएन । प्रमुखको अनुपस्थितिमा प्रतिनिधि समेत सहभागी जनाएका थिएनन् ।
हल्दिवारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनले गाउँपालिकाको कार्यक्रमका कारण सहभागी हुन नपाएको जानकारी दिए । उनले गाउँपालिकाको पूर्व तयारी गरिएका कार्यक्रमका कारण उपस्थित हुन नपाएको बताए । उनले भने, महत्वपूर्ण कार्यक्रम भएपनि सहभागी हुन सकिन ।
जिल्लाको जोखिम पहिचान गरेर अबको बर्खायाममा क्षति कम गराउन आवश्यक तयारी भइरहेको रेडक्रस झापाका सभापति लोकराज ढकालले जानकारी दिए । उनले स्थानीय तहको सहभागिता नहुनु आश्चर्य भएको प्रतिक्रिया दिए । जिल्लाको सुरक्षामा स्थानीय सरकारको धेरै दायित्व छ, ढकालले भने – यो कार्यक्रम उहाँहरुको लागि महत्वपूर्ण हुनुपथ्र्यो ।
स्थानीय तहमा विपत व्यवस्थापन समिति छ । स्थानीय सरकारसँग पूर्ण अधिकार भएपनि प्राविधिक ज्ञान नहुन सक्छ भन्दै उनले प्राविधिकबाट आवश्यक सहजीकरण गर्ने बताए ।
सुरक्षा निकाय, स्थानीय सरकार, जिल्ला दैविक प्रकोप उद्धार समितिको आआफनो जिम्मेवारी छ । जोखिम कम गर्न आवश्यक पूर्व तयारीका लागि छलफल गरिएको कार्यक्रममा नीजि क्षेत्रको समेत सहभागिता थिएन । अध्यक्ष ढकालले झापाका नीजि क्षेत्र उधोग बाणिज्य संघको सक्रियता समेत कमजोर भएको दावी गरेका छन् ।