मिडियाले कुरो बङ्ग्याए : प्रचण्ड

सुनसरी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढंगले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गरेका छन् ।
सुनसरी क्षेत्र नं–१ का कार्यकता प्रशिक्षण तथा भेटघाट कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले सहमति जे भए पनि सहमतिमै केपी ओली नै पाँच वर्षसम्म सरकार चलाउने बताए । ‘हामी निरन्तर संवादमा छौं ।
पाँच वर्ष नै केपी जीले सरकार चलाउन सक्नुहुन्छ’, दाहालले भने, ’सरकार सञ्चालन हामी सहमति गरेर पाँच वर्षसम्म चलाउँछौं । मिडियाका पछि नलाग्न म अनुरोध गर्दछु ।’ उनले करीब पाँच मिनेट मात्र कार्यकर्तालाई सम्बोधन गरेका थिए ।
अध्यक्ष दाहालले पार्टीका विस्तृत कुरा बुझेर मात्रै धारणा बनाउन कार्यकर्तालाई सुझाएका थिए । उनले पार्टी एकीकरणका बाँकी रहेका विषयलाई दुई दिनभित्रमा टुङ्ग्याउने पनि जानकारी गराए ।