अटोवालको कथा : दुवै खुट्टामा स्टिल, श्रीमतिलाई पाठेघरको क्यान्सर

बिर्तामोड । व्यस्त बजार बिर्तामोडमा शनिबार (हिजो) साँझतिर मे १ ह ४५३४ नम्बरको एउटा अटोमा आगलागी भयो । अर्जुनधारा–११ मातामन्दिर क्षेत्रमा बसोबास गर्दै आएका खगेन्द्र बस्नेतको गुढ्दै गरेको अटोमा आगलागी हुँदा पूर्णरुपमा क्षति भएको छ । उनको अटोमा आगलागी हुँदा उनको सपनामा ठुलो क्षति पुगेको छ ।
अटोमा त आगलागी भयो, तर मेरो सारा सपनामा यसले ठुलो धोका भएको छ, बस्नेतले भने – मेरो अटोमा मात्र होइन, जिन्दगीमा पनि आगो लागेकै छ । कोठामा भाडा बसेका बस्नेतको जीवन कहानी दर्दनाक नै छ । अटो लिएको १ वर्ष पुरा भएको थियो । उनले अटो किस्तावन्दीबाट निकालेका थिए । बस्नेतले ३६ किस्तामध्ये १६ किस्ता बुझाई सकेका छन् । ऋणसमेत चुक्ता नभई अटो जल्यो ।
०६४ सालमा दुर्घटनामा परेका खगेन्द्र बस्नेतको दुवै खुट्टामा स्टिल हालेको छ । उनी खुट्टामा स्टिल हालेपछि कुनै काम गर्न नसकेर अटो चलाइरहेका थिए । खुट्टामा स्टिल हालेका बस्नेतको टाउकोमा पाँच सदस्यीय परिवारको जिम्मेवारी पनि छ । उनका अनुसार, श्रीमति पनि रोगी छन् । श्रीमतिलाई पाठेघरको क्यान्सर छ । मुटुको विराम पनि । बस्नेतले भने, श्रीमतिलाई डिप्रेसन पनि छ ।
मलाई, जीवनमा धेरै घटनाले विरक्त बनाएको छ । हिम्मतका साथ काम गरिरहेको थिए, उनले थपे– नहुनेलाई समस्याहरुले कहिल्यै छोड्दैन रहेछ ।
तिन सन्तानका अभिभावक बस्नेत आफै पनि शारिरीक रुपमा अशक्त छन् । दिनभर काम गरेर किस्ता बुझाउने रकम छुट्टाएर घर खर्च चलाइरहेका थिए । छोरा छोरीलाई जापान कोरिया पठाउन भाषा पढाइरहेका उनको राम्रो घर बनाउने सपना छ ।
गुढ्दागुढ्दै आगलागी हुँदा, सपनाहरु पनि जलेको छ, बस्नेत भन्छन् ।