झापामा फुल रोप्दै मदनआश्रितको सम्झना

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी झापाले २६ औं मदन आश्रित स्मृति दिवस रचनात्मक कार्यक्रम गर्दै मनाएको छ ।
नेकपाका नेता तथा कार्यकर्ताले जननेता मदन भण्डारी र कुशल संगठक जिवराज आश्रितको दुर्घटनाबाट मृत्यू भएको २६ औं स्मृतिमा फुल रोप्दै सम्झना गरेका छन् ।
पार्टी एकताको खुशी र जनताको प्रिय नेता गुमाएको दिनलाई दुःखका रुपमा सम्झदै फुल जस्तै पार्टी बनाउन सबै नेता कार्यकर्ताले फुल रोपेका छन् । उनीहरुले जिल्ला पार्टी कार्यालय वरिपरी फुल रोपेका छन् । पार्टीका केन्द्रीय सदस्य नरेश खरेल, देवेन्द्र दाहालसहित जिल्लाका नेता तथा कार्यकर्ताले फुल रोप्दै पार्टीलाई पनि फुल जस्तै हुर्काउने सन्देश दिएका छन् ।

स्मृति दिवसमा आयोजित कार्यक्रममा प्रमुख अतिथि नरेश खरेलले मदनआश्रितको योगदानले नै पार्टी जीवित रहेको बताए । उनले पार्टीलाई जीवित बनाउन स्वर्गीय नेताहरुको बाटो हिड्नु पर्ने औल्याएका छन् । यस्तै पार्टीका केन्द्रीय सदस्य देवेन्द्र दाहालले मदन भण्डारीलाई सम्झनका लागि उहाँको विचारलाई अध्ययन गर्नुपर्ने बताएका छन् ।
उनले जननेता मदन भण्डारीले गरेको योगदानले पार्टी बाँचेको बताए । जनताको बहुदलीय जनवादलाई जनताको विचमा लगेर नेकपालाई प्रिय पार्टी बनाउनु पर्ने उनको भनाई छ । उनले पार्टी नेताले जनताको मन जित्न जबज बुझाउनु पर्ने भनाइ राखेका थिए ।

कार्यक्रममा राजु आचार्य अग्नि, मेनका काफ्ले र जिल्ला अध्यक्ष चिन्तन पाठक लगायतले मन्तब्य राखेका छन् ।