मन्त्रीलाई विवादित लक्ष्मी माविको घटना जानकारी

बिर्तामोड । विवादित अर्जुनधारा–६ लक्ष्मी माध्यमिक विधालयको बारेमा संघर्ष समितिले शिक्षामन्त्री गिरिराज मणि पोखरेललाई जानकारी गराएको छ । संघर्ष समितिका संयोजक सहित सदस्य, अभिभावक, चन्दादाता र पूर्व विधार्थीले विधालयमा भइरहेको गतिविधिका बारे जानकारी गराएका हुन् ।
पछिल्लो समय विधालयमा भइरहेको विवादबारे जानकारी गराउँदै संयोजक पौडेलले विधालयमा चरम समस्या रहेको भन्दै समस्या समाधानमा चासो दिन आग्रह गरेका छन् । उनले जानकारी दिए लगत्तै मन्त्री पोखरेलले सो विधालयको सबै विवादबारे आफु जानकार रहेको भन्दै प्रक्रिया समेत अछि बढिसकेको जानकारी दिए । मन्त्री पोखरेलले प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताको सबै घटना जानकारी लिएको सुनाएका छन् ।
विधालय विवाद समाधान संघर्ष समितिले मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै कारवाहीको माग गरेका छन् । विधालयमा आएको बजेट पारदर्शी नगरेको, परीक्षाहरु लापरबाही गरेको, शिक्षकमाथि विभेद गरेको, परीक्षा हलमै नबसाई सहायक प्रधानाध्यापक घनश्याम डाँगीलाई परीक्षा दिने व्यवस्था मिलाएको र शिक्षकहरुको सञ्चय कोषको रकम जम्मा नगरेको लगायतका समस्या राखेका थिए ।
विधालयमा प्रअ विरेन्द्र प्रसाद गुप्ता र सहायक प्रअ डाँगीले विधालयमा मनपरी गरेको भन्दै स्थानीयवासी र अभिभावक वर्षौदेखि आन्दोलित छन् । व्यवस्थापन समिति गठन गर्दा मनोमानी गर्न नमिल्ने भएपछि वर्षौदेखि व्यवस्थापन समिति समेत गठन नगरेको संघर्ष समितिका एक सदस्यले जानकारी गराएका छन् ।