५३ दिनपछि बिर्तामोड आइपुगे पदयात्री

बिर्तामोड । नेपाल पदयात्रा २०१९ का तिन जना पदयात्री झापा आइपुगेका छन् । महाकालीको चाँदनी दोधाराबाट शुरु गरेको यात्रा ५३ दिन पछि बुधबार राती पदयात्री झापाको बिर्तामोड आएका हुन् । उनीहरुको पद्यात्रा काँकरभिट्टामा समापन हुने छ ।
जातीय विभेद् विरुद्धको पदयात्रामा समाजशात्री हेमराज आचार्य, समाजिक अभियान्ता रिता परियार र पत्रकार अशोक दर्नाल सहभागी छन् । उनीहरुलाई बिर्तामोडमा यहाँका दलित अधिकारको क्षेत्रमा क्रियाशिल अभियान्ताले स्वागत गरेका छन् । सामाजिक रुपमा अझै जातीय विभेद रहेको भन्दै उनीहरुले यसका विरुद्ध पदयात्रा गरेका हुन् ।
विभेद अन्त्यका लागि राष्ट्रिय सन्देश दिन महाकाली – मेची पदयात्रामा पदयात्रीले यात्राका क्रममा विभेदको अवस्था बारे अध्ययन समेत गर्दै आएको अभियान्ता दर्नालले जानकारी दिए । उनका अनुसार संविधानमा भएको दलित अधिकार कार्यान्वयन गर्न पनि यो पदयात्रा गरिएको हो ।
५३ दिनको यात्रामा स्थानीय सरकार र सरोकारवालाले जातीय विभेद विरुद्ध प्रतिवद्धता समेत जनाइरहेका छन् । आज बिर्तामोड नगरपालिकाले उनीहरुको सम्मान सहित प्रतिवद्धता जनाउने कार्यक्रम रहेको दलित नेता छविललाल विश्वकर्माले जानकारी दिएका छन् ।