नेपाली नेतामा यौन आशक्ति !

काठमाडौं । नेपाली राजनीतिका विभिन्न घटकमा रहेका महिला कार्यकर्ता तथा नेत्रीसँग यौनजन्य सम्बन्ध रहेको चर्चा ‘ओपन सेक्रेट’ रूपमा चले पनि यसका प्रमाणहरू फेला परेका छैनन् ।
तर कतिपय राजनीतिक कार्यक्रम र संगठनात्मक संरचनासहितका काममा प्रभावशालीहरूले त्यस्तो चर्चा चलेका पात्रलाई नै शक्ति केन्द्रमा ठाउँ दिनुले आशंकाको अड्कल धेरैले काट्छन् । ‘पात्रका विषयमा नभनौ धेरैका घर विग्रन सक्छन् । तर, पार्टीका प्रभावशाली तहमा अफेयर र यौन सम्बन्धसम्मका चर्चा बैठकदेखि अनेक ठाउँमा हुने गरेका छन्’, एक सांसद भन्छिन्,‘उनीहरूले नै अवसर र मौका पाएको प्रष्ट देखिन्छ ।’
एउटा दुईटा मात्र नभएर विभिन्न पटक सत्तामा बसेका नेकपा, नेपाली कांग्रेस, राप्रपा वा अन्य दलभित्रका भ्रातृ संगठनमा पनि यस्ता हल्ला चल्ने गरेका छन् ।
मधेसी दलसहितका केही नेतालाई भने खुलेरै कतिपयले यौनहिंसा गरेको अभियोग लगाएका थिए । मिटु अभियानको प्रभावका क्रममा प्रदेश ३ का बर्खास्तमा परेका मन्त्री केशव स्थापित माथि पनि यौनहिंसाको आरोप लागेको थियो । जसको उनीहरूले प्रतिरक्षा गरे ।
मिटु अभियानकै क्रममा सञ्चारकर्मी रश्मिला प्रजापतिले स्थापितमाथि ५ बर्ष अघि यौनहिंसा गरेको आरोप लगाएकी थिइन् । उनले भनेकी थिइन्,‘नेपाली समाजमा अझै पनि आफ्नो शक्ति र पदको दुरुपयोग गर्ने यौन व्यभिचारी छन् । काठमाडौंको मेयर हुँदा त्यहाँकी कर्मचारी प्रजापतिले बाहिर कतै घुम्न जाऔंलगायतका प्रस्ताव स्थापितले गर्थे ।’
अघिल्लो बर्ष प्रदेश २ मा पनि यौन सम्बन्धसम्बन्धी एउटा विषयले चर्चा पायो । राजपाका नेता रमन सिंहले यौन शोषण गरेको आरोप स्वास्थ्यकर्मी निशा झाले लगाएकी थिइन् । उनले त हंगामा नै मच्चाइन् । ‘सरुवा गरिदिन्छु भनेर मसँग सम्बन्ध गाँस्यो, शारिरीक सम्बन्ध राख्यो, घुसको ६ लाख समेत लिएर भाग्यो’, उनले प्रदेश सभास्थलमै भनेकी थिइन्,‘राजेन्द्र महतोलाई भेटाउने बाहनामा सिंहले यसो गरेको थियो ।’
उच्च स्रोतका अनुसार राजनीतिक वृत्तमा यस्तो विकृत मानसिकता र प्रयोग हुँदै आएको छ । कर्मचारी नेता, नेता र भ्रातृ संगठनका कतिपय नेत्री, सांसद नियुक्तिका विषयमा ‘यौन सम्बन्धका डिल पनि’ हुन्छन् । त्यसो त राजनीतिमा आवद्ध रहेका तर यौन आशक्ति कायम राखेका स्थानीय स्तरका नेताहरू कतिपय घटनाको दोषी नै पनि कायम भएका छन् । नेकपा मोरङका नेता योगेन्द्र गुरुङकी प्रेमिकाका रूपमा रहेकी रमिला राईको हत्या गरेको समाचार केही दिनअघि मात्र सार्वजनिक भएको थियो ।
राईसँगको शारिरीक सम्बन्ध समेत कायम गरेका गुरुङले आफू बच्नका लागि उनको हत्या गरी सप्तकोशी नदिमा शव फ्याँकेका थिए । त्यसो त यस्तो मामलामा पूर्वमन्त्री पनि नमुछिएका होइनन् । पूर्व सामान्य प्रशासनमन्त्री टेकबहादुर बस्नेतले यौनिक रूपमा हिंसा गरको अनुभूति राख्दै सल्यानकी महिला कार्यकर्ता महिमा खत्रीले लामो स्ट्याटस लेखेकी थिइन् ।
उनले मानवअधिकारकर्मी र पत्रकारलाई न्यायका लागि सहयोग गरिदिन अपिल गर्दै उक्त स्ट्याटसमा यस्तै भाव राख्दै भनेकी थिइन्, ‘बस्नेतले मलाई चितवनमा बोलाउँदै यौनजन्य हर्कतको प्रस्ताव जस्तो गरेको मैले अनुभुति गरें ।’ त्यसो त रिपोर्टस क्लवमा पत्रकार सम्मेलन गर्दै नेपाल तरुण दलकी एक नेत्रीले नेता अर्जुननरसिंह केसीमाथि यस्तै आरोप लगाएकी थिइन् । जसको पुष्टिचाहिँ हुन सकेन तर समानुपातिक सूचीमा पार्ने बाहनामा केसीले यौनहिंसा गरेको भन्ने उनको अभियोग थियो ।
‘कतिपय महिला आरोप लगाएका भरमा, ठूला नेतासँग नाम जोडेका भरमा राजनीतिमा अगाडी आउन चहान्छन्’, केही राजनीतिकर्मीको ठम्याई छ,‘कतिपय भने यस्तै सम्बन्ध गाँसेका कारणले छिटो माथि पुग्ने तर कर्मठले मौका नपाउने पनि हुन्छ ।’
मुलुक बनाउने जिम्मेवारी लिएका कतिपय ठूलै नेता पनि व्यक्तिगत जीवनमा यौन आशक्तिमा रमाउने गरेका चर्चा राजनीतिक बजारमा चलिरहन्छ । यस्ता प्रकरणमा चर्चामा रहेका नेता नेत्रीको पनि नाम जोडिने गरेको छ । तर कतिपयले यसलाई पोलिटिकल स्टन्ट, गसिप अथवा अनर्थ हल्लामात्र भन्छन् ।
नेकपाका एक नेता भन्छन्,‘हावा नचली पात हल्लिँदैन, यस्ता हल्लामा सत्यता पनि हुन्छन्, कतिपय बेला हल्लामात्र पनि हुन सक्छन् ।’ दैनिक नेपालले लेखेको छ ।