बिर्तामोडमा म्यारिज व्यूरो ‘रहस्यमय’
बिर्तामोड । झापाको बिर्तामोडस्थित अदुवा पुल पश्चिम उत्तर तर्फको घरमा नेपाल जब्स केयर सर्भिस प्रालि नामको एउटा बोर्ड राखिएको छ । जहाँ म्यारिज ब्यूरोको काम गर्ने गरेको फेला परेको छ ।
केहि वर्षअघिसम्म काठमाडौं सहित देशका विभिन्न शहरमा सञ्चालित म्यारिज व्यूरोका सञ्चालक अहिले पनि मानव बेचबिखनको मुद्दा खेपिरहेका छन् । नेपाल जब्स केयर सर्भिस प्रालि बिर्तामोड दर्ता गरेका बिर्तामोड –१ घर बताउने एलएन न्यौपाने गिरीले कम्पनीले चार वटा काम गर्ने जानकारी दिए ।
सो कम्पनीको बोर्डमा भेटिए अनुसार लेखिएको छ – काम र कामदार पाईन्छ , वैवाहिक परामर्श, बैदेशिक रोजगारीको लागि आवश्यक परामर्श र वैदेशिक तथा स्वदेशी रोजगारको लागि आवश्यक तालिम । तिन तलामाथि भित्रि भागमा कार्यलय स्थापना गरेर सो कम्पनीले बिर्तामोडका होटलहरुमा कर्मचारी पनि पठाउने गरेको खुलेको छ । कम्पनीका प्रमुख गिरीले विवाहका लागि आवश्यक परामर्श दिने गरेको स्वीकार गरेका छन् । उनका अनुसार कम्पनीले तयार गरेको फारम भर्नुपर्छ । त्यसपछि दुवै पक्षको परिवारमा पुगेर अनुसन्धान गर्ने गरेको गिरीको भनाई छ । कसैको घरमा गएर अनुसन्धान गर्ने अधिकार प्राइभेट कम्पनीलाई छैन । उनले भने परिवारको यथार्थ बुझ्न जान्छौ ।
विवाह परिवारले गराउने हो अर्को अदालतबाट कानुनी विवाह गर्न सकिने व्यवस्था छ । विवाहको प्रमाण पत्र स्थानीय सरकारले लिने गर्छ । तर, नेपाल जब्सले आफ्नो फारमको अन्तिममा दुलाहा, दुलहीलाई सहि छाप गराउने गरेको भेटिएको छ । फारममा कतिपय व्यक्तिगत गोपनीयता बाहिर ल्याउने गरी प्रश्न तयार गरिएको छ । वैवाहिक परामर्शको फारममा २१ वटा उत्तर मागिएको छ । फारमको अन्तिममा हामी दुवै जनाले एक अर्काको हित्तचित्त बुझि बुझाई, जीवनमा आइपर्ने जस्तोसुकै समस्याको समाधान गरेर जाने बाचा गरि एक अर्कालाई चिन्दै चिनाउदै अगाडि बढ्ने कसम खाएका छौ लेखिएको छ । त्यसको मुन्तिर दुलाहा र दुलहीलाई सहिछाप गराउने ठाउँ राखिएको छ । यसबारे अधिवक्ताले म्यारिज ब्युरो अवैधानिक भएको जनाएका छन् । उनका अनुसार म्यारिज ब्युरोको नाममा देशभित्र ठुलाठुला मानवेविखनका घटना भएका छन् ।
नेपाल जब्सले फेसबुक नै बिर्तामोड म्यारिज ब्युरो यहाँ दुलाहा दुलही खोजि बिवाह गराईन्छ, नामकै सञ्चालन गरेको पाइएको छ । सोहि सञ्जालमा भारतको विभिन्न ठाउँमा रोजगारीको लागि पठाइने जानकारी राखिएका छन् । त्यसैमा गत फेब्रुअरीमा एउटा यस्तो स्टाटस लेखिएको छ । अष्ट्रेलिया बिबाह गरेर जाने एक जना महिला चाईयो, योग्यता मेडिकल लाईन अथवा नर्स काम गरेको हुनुपर्नेछ । बिबाह गरेर लाने पुरूष नेपाल कै नागरिक हुनुहुन्छ । जात छेत्री बाहुन हुनुपर्नेछ । यसमा सम्पर्क समेत उल्लेख गरिएको पाइएको छ ।
बिर्तामोडमा गत असोज महिनादेखि सञ्चालनमा आएको म्यारिज व्युरोले कतै मानववेचविखनको काम त गरेको छैन ? पछिल्लो समय यस्तै सवालहरु उठ्न थालेका छन् । यसअघि प्रहरीको अनुसन्धान व्यूरोले बिभिन्न बहाना तथा प्रलोभन देखाई नेपाली युबतीलाई पेपर म्यारिजको नाटक रचेर चिन र कोरियामा बेचबिखन गर्ने अन्तराष्ट्रिय गिरोहलाई पक्राउ गरिसकेको छ । प्रहरीले म्यारिज व्युरोका सञ्चालकले नेपाली किशोरी गराए वापत बाहिर देशका नागरिकबाट १५ देखि २० लाख रकम लिने गरेको भेट्टाएका थिए ।
बिर्तामोडमा सञ्चालन भइरहेको सो कम्पनीमा उमेर ४५ देखि ५५ वर्षसम्मका पुरुष विवाहको लागि केटी खोजीदिन आग्रह गर्दै आउने गरेको गिरीको भनाई छ । उनका अनुसार चारआलीकी एक महिलाले समेत विवाहको वातावरण मिलाइदिन भन्दै आएकी थिइन् । कम्पनीले हालसम्म विवाह भने नगराएको जनाएको छ । म्यारिज व्युरो मानव वेचविखनमा संलग्न भएको सार्वजनिक भएपछि सञ्चालनमा कडाई गरिए पनि झापाको बिर्तामोडमा भने सञ्चालन भइरहेको छ ।
